Thursday, November 28, 2013

मुम्बईमा बसिबियाँलो ११-१२ जनवरी, २०१४ गोर्खा मेलाको रुपमा सम्पन्न भइरहेछ।
स्थान - त्रिवेदी भवन, मिरा रोड, थाणे।

Tuesday, November 12, 2013

बसिबियाँलो कालेबुङको सूचनाः
बसिबियाँलो कालेबुङमा आयोजित हुने मासिक वैचारिक गोष्ठी हो।
यसले आफ्नो पञ्चरजत प्रकरण (१२५ औं) पूरा गरिरहेको छ।
यस उपलक्ष्यमा भारतको आर्थिक राजधानी मुम्बईमा एउटा दुइ दिवसीय कार्यक्रमको आयोजना हुनगइरहेको छ।
सुनाखरी महिला समितिका चेलीबेटीहरूले यस कार्यमा सहयोग पुऱ्याइरहेका छन्।
कार्यक्रम मीरा रो़डस्थित त्रिवेदी हलमा सम्पन्न हुनेछ।
जनवरी ११ अनि १२ तारिख २०१४ मा कार्यक्रम हुनेछ।
कार्यक्रममा साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति, हिन्दी, अँग्रेजी अनि नेपाली पुस्तक विमोचन लगायत गोर्खा सामग्रीहरूको प्रदर्शनी एवम् बिक्री हुनेछ।
सामग्रीहरूमा गोर्खा पहिरन (ड्रेस), खाद्य पदार्थ (सुक्खा अनि अचार आदि), पुस्तक-पत्र-पत्रिका, सिडी-भिडियो, हस्तकला (चित्र, फोटोग्राफ) इत्यादि समावेश हुनेछन्.
लगभग ४० भन्दा धेरै कालेबुङ, दार्जीलिङ, सिक्किम, सिलगड़ीका साहित्यिक र सांस्कृतिक कर्मीहरूले सहभागिता जनाउनेछन्.
कार्यक्रमलाई सफल अनि फलप्रद बनाउनका लागि हामीलाई मुम्बईका सामाजिक कार्यकर्ताहरू तथा जाति र संस्कृतिप्रति आस्था राख्ने शुभचिन्तकहरूको सुझाउ अनि सल्लाहको आवश्यकता परेको छ. पूर्ण जानकारीका लागि ९४३४१-२७१७५ (सेल नम्बर), ०३५५२-२५५५९९ (फ्याक्स नम्बर), kalimnews@gmail.com इ-मेल अनि basibiyalokpg.blogspot.com ब्लगमा सम्पर्क गर्नसकिनेछ.
हार्दिक धन्यबादसहित.

Saturday, November 9, 2013

जातीय गौरवको कथा बाच्दै
बसिबियाँलो टोलीको एकदिने देउसी सम्पन्न

कालेबुङ (अरुण रसाइली) – धारा चिनाउँछ पानीले, मान्छे चिनाउँछ बानीले, साहु चिनाउने झिटिमिटी, जात चिनाउने रीतिथिति, जाति चिनाउने संस्कृति भन्दै लगभग आधा सयजना देउसेहरूले यसपालि देउसी खेलेर जातीय गौरवको कथा बताए। आधुनिक तकनिकको भरपुर प्रयोगसहित नितान्त नयाँ ढाँचामा देउसी आयोजना गरेर यसपालि बसिबियाँलो टोलीले संस्कृतिप्रेमीहरूको मन मात्रै जितेनन् तर आफ्नो जातीय संस्कृतिलाई जोगाएर राख्ने दिशामा एक उदाहरणीय पहल शुरु गरे।
प्रत्येक महिनाको दोस्रो शनिबारका दिन सम्पन्न हुने गरेको मासिक वैचारिक
गोष्ठी कार्यक्रम बसिबियाँलोले गत वर्षदेखि सामुदायिक देउसी खेल्न शुरु गरेपछि यसपालि कालेबुङको लब्धप्रतिष्ठ सामाजिक संस्था पिरान्हास क्लबको आयोजनामा एकदिने देउसी खेल्यो। ८३ वर्षीय नारी साहित्यकार श्रीमती सानुमती राई, प्राथमिक शिक्षक प्रशिक्षण संस्थानका पूर्व प्राचार्य बी. आर. छेत्रीलगायत लेखक-कविहरू कृबु संयमी, टीएन सुवेदी, अरुण कुमार रसाइली, जीत मास्के, मदना ओझा, सिबु छेत्री आदिको उपस्थितिमा सम्पन्न देउसीलाई भट्याउने कार्य गरेका थिए युवा लेखक हीरा छेत्रीले। यो देशमा गोर्खा जातिको उपस्थिति, देशको स्वाधीनता सङ्ग्राममा योगदान, वर्तमान भारत निर्माणमा उनीहरूको भूमिकाहरूको उल्लेख गर्दै मादलको सम्हाला तालमा सामूहिक रुपमा देउसुरे गाएको सुनेपछि उपस्थित ३०० भन्दा अधिक श्रोताहरू मैदानमै नाच्न थालेका थिए। यति मात्रै होइन देउसी नाइकेले भट्याएर जातीय गौरवको कथा बखान्न थालेपछि विराट् आकारको टेलिभिजन मनिटरमा सान्दर्भिक भिडियो क्लिप्सहरूको प्रदर्शन हुँदा संस्कृति र तकनिकीको सम्मिश्रणले बिछट्टै आकर्षण थपेको देखिन्थ्यो। कालेबुङ टेलिभिजन (केटिभी) –कौ सौजन्यमा तयार गरिएको भीडियो क्लिप्समार्फत् पर्दामा गोर्खा शहीद र स्वाधीनता सङ्ग्रामी दुर्गा मल्ल, दलबहादुर थापा, दलबहादुर गिरी, खड़गबहादुर विष्ट, छविलाल उपाध्याय, सावित्री देवी, इन्द्रेणी थापा आदि लगायत स्वाधीनतापश्चात देशको सुरक्षाका लागि प्राण न्यौछावर गर्ने शहीदहरू, राष्ट्रिय गीतका सङ्गीतकार रामसिंह ठकुरी, बङ्गालकी प्रथम महिला सांसद मायादेवी छेत्री अनि सिनेमा, साहित्य, खेलकुद, कला, शिक्षा, राजनीति जस्ता क्षेत्रमा राष्ट्रिय तहमा नाम कमाइसकेका गोर्खा तथा पहाड़का प्रतिभाहरू डेनी डेञ्जोङपा, भाइचुङ भुटिया, माला सिन्हा, प्रतिभा सिन्हा, बिनोद प्रधान, लुइस बैंक, पुर्णिमा (सुषमा श्रेष्ठ), ज्योति ब्राह्मिण, स्व. गोपालसिंह नेपाली, चन्दनसिंह राउत, भरत छेत्री, वीरबहादुर छेत्री, मणिकुमार राई, मणिकुमार छेत्री, सुरभि राई, अपराजिता राई, ललित दूतराज, सीपी गिरी, जशलाल प्रधान, तरुणदीप राई, परिल लेप्चा, शिव थापा, प्रकृति गिरी, प्रशान्त तामाङ, रोशनी राई, कर्मा शेर्पा, दीपराज राई, ओम छेत्री, सौम्य राई, कपिल थापा, सोनाम शेर्पा, सोनाम छिरिङ शेर्पा, हिल्दामित लेप्चा, महेन्द्र पी. लामा, टङ्कबहादुर सुब्बा, मुनिष तामाङ, जोएल राई, स्वराज थापा, नरबहादुर भण्डारी, मणिकुमार सुब्बा, पवन चामलिङ आदिको चित्र प्रदर्शनी हुँदा साँच्चै उपस्थित दर्शकहरूले आफैलाई गौरवान्वित अनुभव गरिरहेको प्रतीत हुँदथ्यो। यस्तैमा फेरि यो जातिले देशको स्वाधीनता, निर्माण र विकासमा आफ्नो बलबुताले भ्याएसम्म योगदान गर्दा पनि भोग्नुपरिरहेको जातीय चिन्हारीको सङ्कटको गुनासोलाई पनि देउसीमार्फत् लयबद्ध रुपमा भट्याइएको थियो। यसरी नै सामूहिक गायन गर्दै देउसेहरूले प्रदान गरेको आशिर्वादमा कुरीति, भ्रष्टाचार, बेइमानी, कुलत, दुर्व्यवसन, बौद्धिक अकर्मण्यता जस्ता नकारात्मक तत्वहरूलाई गोर्खा समाजबाट निकास दिएर देश र समाजको लागि सकारात्मक अनि सिर्जनशील बनी अगि बढ़्ने प्रार्थना गोरखनाथलाई गरिएको थियो।
मारुनी, सङ्गिनी, लोकनाच, सामूहिक चेली गीत, हास्य-व्यङ्ग्यात्मक नाच आदि समाविष्ट गरिएको ३ घन्टा लामो देउसी कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य मुना मदनबाट एउटा अंशलाई गीतिनाटिकाको रुपमा श्रीमती लीला जोशी अनि सिबु छेत्रीले आफ्नो अभिनयमार्फत् जीवन्त रुपमा मञ्चित गरेका थिए। यसरी नै १६ माइलको नारी जागरण सङ्गठन अनि गाउँ सुधार समितिका कलाकारहरूले सामूहिक सांस्कृतिक प्रस्तुति पेश गरेका थिए भने सहदेव थापा, विकास थापा अनि नरेश भण्डारीले हास्य नाच प्रस्तुत गरेर दर्शकहरूलाई भुँड़ी मिची हाँस्न बाध्य बनाएका थिए। सङ्गीत संयोजनको भार प्रसिद्ध सङ्गीतकार-गीतकार मधुसूदन लामाले बहन गरेका थिए भने मादल नवीन सिंहको अगुवाइमा कालेबुङ विश्वकर्म समाजका सदस्यहरूले सामूहिक मादल वादनमा सहयोग पुऱ्याएका थिए। कार्यक्रमको सञ्चालन युवा उद्घोषक लवाङ तामाङले गरेका थिए।
सामूहिक रुपमा समस्त गाउँलेहरूबाट दच्छिना सङ्ग्रह गरिएको यस कार्यक्रमको शुरुआतमा हीरा छेत्रीले बसिबियाँलोको परिचय प्रदान गर्दै देउसीलाई गोर्खाहरूको जातीय चाड़को रुपमा पालन गर्नुपर्ने मनसाय पोखे। उनले देउसी हिन्दू धर्मावलम्बीहरूको चाड़ नभएर गोर्खा जातिको छुट्टै सांस्कृतिक विरासत बोकेको परिचय हो भनी बताए। गोर्खाबाहेक अन्य हिन्दू सम्प्रदायले देउसी पालन नगरेको तथ्यबाटै यो पर्व रौसे जाति गोर्खाहरूको पेवा रहेको प्रमाणित हुने उनले ठोकुवा गरे अनि गोर्खाको रुपमा जन्म ग्रहण गर्ने हिन्दू, ईसाई, बौद्ध, इस्लाम कुनै पनि सम्प्रदायका व्यक्तिहरूले यसलाई जातीय उत्सवको रुपमा पालन गरी भारतका विभिन्न चाड़हरूको हाराहारीमा आफ्नो छुट्टै सांस्कृतिक पहिचान निर्माण गर्नुपर्ने विचार पोखे।

साँझ ६ बजीदेखि शुरु भएको कार्यक्रम रातिको १० बजीसम्म एकनास चलेको थियो। कार्यक्रमको अन्त्यसम्म पनि दर्शकहरूले कार्यक्रमस्थल यहाँको ११ माइलस्थित सबैभन्दा पुरानो प्राथमिक पाठशाला लिली वग प्राइमेरी स्कुलको प्राङ्गण छोड़्न तयार नरहेको स्थितिबाट यो देउसीको लोकप्रियता झल्किएको देखियो।