Friday, January 31, 2014

मुम्बईमा गत ११ अनि १२ जनवरीका दिन आयोजित गोर्खा मेला र बसिबियाँलोको १२५ औँ प्रकरणका विशेष तस्वीरहरू....
.

 फोटो नम्बर एक - कालेबुङ, खरसाङ, सिक्किम, सिलगड़ी, मुम्बई र डुअर्सबाट भेला भएका बसिबियाँलोका साथीहरू

फोटो नम्बर दुइ - बसिबियाँलोका साथीहरू सबैजना प्रफुल्ल मुद्रामा मिरा रोडस्थित सेक्टर ६ मा।

फोटो नम्बर तीन - आयोजना समिति अथवा सुनखरी नेपाली महिला समाजका सदस्याहरू स्वागत गान प्रस्तुत गर्ने तरखरमा।

कालेबुङमा लगातार चलेर आइरहेको बसिबियाँलो मासिक गोष्ठीको १२५ औँ प्रकरण जनवरी १२ तारिख मुम्बईको मिरा रोडस्थित त्रिवेदी हलमा सम्पन्न भयो। यसै उपलक्ष्यमा बसिबियाँलो टोलीले त्यसै हलमा ११ र १२ तारिखका दिन गोर्खामेलाको पनि आयोजना गरेको थियो। गोर्खा मेलाको उद्घाटन स्थानीय नगरनिगमका पूर्व मेयर नरेन्द्र मेहताले गरेका थिए भने विशिष्ट अतिथिका रुपमा कर्णाटक केन्द्रिय विश्वविद्यालयका अँग्रेजी विभागप्रमुख डा. डोनुर उपस्थित थिए। यस औसरमा मुम्बईमा रहेर आइरहेका धेरै नेपालीभाषीहरूको उत्साहजनक भेला भएको थियो जसमा भरत दर्नाल, ललित दूतराज, सहदीप तामाङ, रञ्जित गजमेर, मुरलीधर, सुबोध चोपड़ा, विकास दूतराज, मणिकुमार तामाङ आदि थिए भने आयोजना समितिका प्रमुख कार्यकर्ताहरूमा इन्दु गजमेर (सभापति), रजनी थापा (उपसभापति), ज्योत्स्ना दियाली राव (सचिव) आदि प्रमुख थिए। यसै उपलक्ष्यमा बसिबियाँलोले प्रत्येक शुभोपलक्ष्यमा प्रदान गर्ने गाउँबूढ़ाको पदवीद्वारा मुम्बईमा दीर्घदिनदेखि नेपालीभाषी गोर्खाहरूलाई सहयोग पुऱ्याएर आइरहेको सुनखरी नेपाली महिला समाजको पक्षमा इन्दु गजमेरलाई प्रदान गरियो। कार्यक्रमको औसरमा बसिबियाँलो, कालेबुङको तर्फबाट गीत, नाच, नाटिका, कविता वाचन आदि प्रस्तुत गरिएका थिए भने मुम्बईका रैथाने नेपालीभाषीहरूले पनि आफ्ना रचनाहरू पाठ गरेका थिए जसमा रुपक गाउँवासी, प्रकाश पौड्याल, वीरेन्द्र आदि प्रमुख थिए। कार्यक्रमको अन्तिम दिन सुनखरी नेपाली महिला समाजका जाँगरिला नारी सदस्याहरूले बसिबियाँलो टोलीलाई माघे सङ्क्रान्तिको चाड़मा निम्त्याएर विदाई समारोहको आयोजना गरेका थिए।

Saturday, January 18, 2014

लोक साहित्यकार एम. एम. गुरुङको निधन

कालिमन्युज 18 जनवरी - धर्म र संस्कृतिलाई कहिल्यै एकैसाथ नहेर्ने नेपाली लोक साहित्यकार मार्टिन माइकल (एम. एम. गुरुङ)-ले आज कालेबुङको मध्य बमबस्तीस्थित आफ्नो वासस्थानमा अन्तिम श्वास फेरे। 88 वर्षको उमेरमा पुगेका गुरुङ विभिन्न प्रकारका रोगहरूले गत केही महिनादेखि पीड़ित थिए। आफूपछि पत्नी अनि चार छोराहरू छोड़ेर जाने गुरुङको देहान्तको समाचार आज बिहानदेखि फैलिएपछि दार्जीलिङ-सिक्किम-डुअर्सका नेपाली साहित्यप्रेमीहरूमाझ शोकको लहर छाएको थियो भने उनको पार्थिव शरीरको अन्तिम दर्शनार्थ सबैजना गुरुङको निज वासस्थानमा पुगेका थिए। उनलाई श्रद्धाञ्जली चढ़ाउने कार्य भोलि पनि कायम रहने अनि पर्सि सोमबार बिहान 10 बजी उनको पार्थिव शरीरलाई निज वासस्थाननजिककै माटोमा दफ्नाइने जानकारी परिवार सूत्रले दिएको छ।
मङ्पुको सिन्कोना विभागबाट सेवानिवृत्त बनेर कालेबुङमा बसाइँ सरेका स्व. गुरुङको चर्चित पुस्तक बिर्सिएको संस्कृतिले सन् 1982 मा राष्ट्रिय साहित्य अकादमी पुरस्कार जितेको थियो भने उनलाई आफ्नो जीवनकालमा विभिन्न पुरस्कार, सम्मान र प्रशस्तिले पनि विभुषित गरिएको थियो। लोक संस्कृतिलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने स्व. गुरुङले कथा अनि गीतहरू पनि लेखेका थिए। आफू ईसाई भएर पनि पारम्परिक गोर्खा संस्कृतिलाई नभुल्ने स्व. गुरुङ आफ्नो जीवनकालको अन्तिम पलमा विभिन्न रोगहरूले थल्लिएका थिए। गत वर्षको 25 दिसम्बरका दिन उनलाई कालेबुङको महकुमा अस्पतालमा भर्ना गरिए तापनि रोग निको हुने कुनै छाटकाट देखिएको थिएन।

साहित्यप्रेमीहरूले उनको निधनको कारण नेपाली लोक साहित्यमा धेरै क्षति पुगेको टिप्पणी पोखेका छन्।