Saturday, January 18, 2014

लोक साहित्यकार एम. एम. गुरुङको निधन

कालिमन्युज 18 जनवरी - धर्म र संस्कृतिलाई कहिल्यै एकैसाथ नहेर्ने नेपाली लोक साहित्यकार मार्टिन माइकल (एम. एम. गुरुङ)-ले आज कालेबुङको मध्य बमबस्तीस्थित आफ्नो वासस्थानमा अन्तिम श्वास फेरे। 88 वर्षको उमेरमा पुगेका गुरुङ विभिन्न प्रकारका रोगहरूले गत केही महिनादेखि पीड़ित थिए। आफूपछि पत्नी अनि चार छोराहरू छोड़ेर जाने गुरुङको देहान्तको समाचार आज बिहानदेखि फैलिएपछि दार्जीलिङ-सिक्किम-डुअर्सका नेपाली साहित्यप्रेमीहरूमाझ शोकको लहर छाएको थियो भने उनको पार्थिव शरीरको अन्तिम दर्शनार्थ सबैजना गुरुङको निज वासस्थानमा पुगेका थिए। उनलाई श्रद्धाञ्जली चढ़ाउने कार्य भोलि पनि कायम रहने अनि पर्सि सोमबार बिहान 10 बजी उनको पार्थिव शरीरलाई निज वासस्थाननजिककै माटोमा दफ्नाइने जानकारी परिवार सूत्रले दिएको छ।
मङ्पुको सिन्कोना विभागबाट सेवानिवृत्त बनेर कालेबुङमा बसाइँ सरेका स्व. गुरुङको चर्चित पुस्तक बिर्सिएको संस्कृतिले सन् 1982 मा राष्ट्रिय साहित्य अकादमी पुरस्कार जितेको थियो भने उनलाई आफ्नो जीवनकालमा विभिन्न पुरस्कार, सम्मान र प्रशस्तिले पनि विभुषित गरिएको थियो। लोक संस्कृतिलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने स्व. गुरुङले कथा अनि गीतहरू पनि लेखेका थिए। आफू ईसाई भएर पनि पारम्परिक गोर्खा संस्कृतिलाई नभुल्ने स्व. गुरुङ आफ्नो जीवनकालको अन्तिम पलमा विभिन्न रोगहरूले थल्लिएका थिए। गत वर्षको 25 दिसम्बरका दिन उनलाई कालेबुङको महकुमा अस्पतालमा भर्ना गरिए तापनि रोग निको हुने कुनै छाटकाट देखिएको थिएन।

साहित्यप्रेमीहरूले उनको निधनको कारण नेपाली लोक साहित्यमा धेरै क्षति पुगेको टिप्पणी पोखेका छन्।

No comments:

Post a Comment