Sunday, June 24, 2018



मुम्बईवासी नेपालीभाषीहरूको उत्साहको अघि मुलसधारे बर्खा नतमस्तक

बसिबियाँलो-को दोस्रो प्रकरणमा महिला अनि युवाहरूको अधिक उपस्थिति

बसिबियाँलो-को परिचय राख्दै युवा लेखक हीरा छेत्री
विभिन्न इलाकाबाट भेला भएका सहयात्रीहरू
मुम्बई – 24 जूनको बिहानैदेखि बर्खायामको सिकार बनेर देशभरिका मिडियाको शिर्षक समाचार बनेको विश्वको सबैभन्दा व्यस्ततम महानगरीहरूमा एक भने गन्तीमा आउने मुम्बईको एल्फिन्स्टेन-परेलस्थित प्रसिद्ध दामोदर स्कुल भवनमा मासिक सामाजिक सिर्जनात्मक वैचारिक कार्यक्रम बसिबियाँलोको दोस्रो प्रकरण पूर्वनिर्धारित तिथिअनुसार सम्पन्न भयो। लगातारको बर्खा अनि साप्ताहिक मेगाब्लकको कारण बाधित रेलमार्गको व्यवस्थालाई पन्छाएर पनि पूर्ण उत्साहका साथ भेला भएका यहाँका नेपालीभाषीहरूलाई कार्यक्रममा स्वागत गरे धेरै वर्षदेखि मुम्बईलाई आफ्नो कर्मभूमि बनाएर यहीँका रैथाने भई बसेका कर्मठ सामाजिक कार्यकर्ता गोविन्द रामहरि शर्माले घरपटीका रुपमा। कार्यक्रममा यसपालि बङ्गलोर अनि दिल्लीका नेपालीभाषी युवाहरूको पनि उपस्थिति रहेको थियो। टीबीडी इन्डिया लिमिटेडका एच. आर. एन्ड अपरेसन विभागका भाइस प्रेसिडेन्ट तथा अफ्रिकन स्टडीमा एम. फिलका विद्यार्थी रहेका घरपटी गोविन्द शर्माले कार्यक्रमको सुरुआतमा स्वागत वक्तव्य राख्दै मुसलधारे बर्खाको कुनै पर्वाह नगरी विचारहरू साटासाट गर्नका लागि उपस्थित भएका सबैप्रति आभार प्रकट गरे अनि आचार संहिता पाठ गराए। स्वागत वक्तव्य प्रस्तुत गर्दै शर्माले बसिबियाँलोको छोटो परिचय राखे अनि यस कार्यक्रमबाट दिनभरिको भागदौड़को जीवनदेखि मुम्बईवासी नेपालीभाषीहरूले केही मात्रामा भए पनि राहत पाउनथालेको बताए। बसिबियाँलो-को माध्यमद्वारा मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूले एकअर्कालाई चिन्ने मौका पाइरहेको पनि उनले बताए।
दोस्रो प्रकरणमा उपस्थित सहयात्रीहरू
यसरी नै युवा लेखक हीरा छेत्रीले नवागन्तुक अतिथिहरूलाई बसिबियाँलो-को पृष्ठभूमिबारे बताउँदै यस वैचारिक अभियानका सामाजिक पक्षहरू खुलस्त पारे अनि उपस्थितवर्गसित अन्तरक्रिया गरे।
हालमा भारतीय नौसेनामा अभियान्त्रिकका रुपमा सेवारत सिक्किमनिवासी युवा सामाजिक कार्यकर्ता केशव सापकोटाले दुइवटा कविता सुनाएर सबैको मन जिते भने माटुङ्गानिवासी युवाकवि पदम भुलले गीत अनि कविता सुनाएर कार्यक्रमलाई नयाँ आयाम दिए। मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूबिच सुपरिचित व्यक्तित्व पदम भुलले बसिबियाँलो-को अवधारणाबाट आफु प्रेरित अनि उत्साहित भएको बताउँदै यस वैचारिक अभियानले वासी र भाषीलाई एकत्र गरेको दाबी गरे अनि उनले नेपालीहरू विश्वमा धेरै ठाउँका वासी भएर रहे पनि उनीहरू नेपालीभाषी हुन् भन्ने जनाउँदै भाषाले मात्र नेपालीहरूलाई एकबद्ध गराउने बताए।
महिलाहरूको उत्साहजनक उपस्थिति 
घरपटी गोविन्द शर्मा स्वागत वक्तव्य प्रस्तुत गर्दै - फोटो याचना
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका गतिविधिसित संलग्न रहेर आइरहेका ब्ल्याक बेल्ट छैटौँ डान नरेन्द्र ओलीले आत्मरक्षाको खेल मार्सल आर्टको आवश्यकताबारे प्रकाश पारे अनि महिलाहरूमा यस खेलको मौलिक ज्ञान हुनु अनिवार्य रहेको जनाए। यसबारे कुनै पनि प्रकारको सहयोगका लागि आफु हरदम तयार रहेको बताउँदै कराते डु फेडेरेसन अफ इन्डियाका सभापति अनि मुख्य प्रशिक्षक पनि रहेका ओलीले खेलकुदले मानिसको जीवनलाई तन्दुरुस्त राख्ने दाबी गरे। यसरी नै उनले विश्वका सबै देश तथा जातिको आफ्नो विशेष खेल रहेजस्तै नेपालीहरूको पनि खुकुरीकलालाई विश्वस्तरमा परिचय प्रदान गर्ने दिशामा कार्य गरिरहेको पनि जानकारी गराए।
सामाजिक कार्यकर्ता श्रीमती सकुन सिँह राईले बसिबियाँलो-मा व्यक्ति अनि पदको सम्मान नभएर विचारको आदर गरिने जानकारी दिँदै यस अभियानलाई समाजोपयोगी बनाउनुपर्ने दिशामा कार्य गर्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याइन्।
विगत धेरै सालदेखि आयुर्वेद उपचारको दिशामा कार्य गरेर समाजका असहाय अनि आर्थिक रुपले असक्षम रोगीहरूलाई सहायता गर्दै  आइरहेका डा. टेक चादले आफ्नो स्वास्थ्य केन्द्रमा विशेष प्रकारको उपचार अनि ओखतीमुलोहरूको उपलब्धता रहेको बताउँदै मुम्बईवासी नेपालीभाषीहरूका सहायतार्थ आफ्नो उपचार केन्द्रको ढोका सदैव खुला रहेको जनाए।
बलिउडका सिनेमाटोग्राफर युवराज नेउपानेले बसिबियाँलो-ले मुम्बईमा रहेर आफ्नो भाषा र संस्कृति भुल्न लागिरहेका कतिपय नेपालीभाषीहरूलाई मातृभाषा नेपालीमा बोल्न बाध्य गराइरहेको अनि कतिपय ठेट शब्दहरूतिर आकृष्ट गराएर एक महत्त्वपूर्ण कार्य गरिरहेको दाबी गरे। उनले आफ्ना कतिपय अनुभवहरू साझा गर्दै मानिसको जीवनमा जातीय भाषा र संस्कृतिको महत्त्वपूर्ण भूमिका रहने बताए अनि बसिबियाँलो जस्तो मञ्चबाट मुम्बईवासी नेपालीभाषीहरू लाभान्वित हुने दाबी गरे।
यस दिनको कार्यक्रममा उपस्थिति दिने विशेष व्यक्तिहरूमा यहाँका विभिन्न उपनगरीय सहरहरू अन्धेरी, एन्टप हिल, घाटकोपर, उड़ान, नेवी नगर, फोर्ट, माहिम, माटुङ्गा, मलाढ, भान्डुप, मिरा रोड, चेम्बुर, वासी, पनवेल, डोम्बिभेली, भिवन्डी, साकिनाका, आदि स्थानबाट आएका सहयात्रीहरू थिए – सामाजिक कार्यकर्ता विकास दूतराज, निलिमा दूतराज, निजी कर्मी लक्ष्मी थापा, लेखिका स्वस्तिका छेत्री, विद्यार्थी याचना छेत्री, नेवी अधिकारी बिपिन दाहाल, नेवी अधिकारी ठाकुर अधिकारी, नेवी अधिकारी सञ्जीव खनाल, सामाजिक कार्यकर्ता रामसिँह तिरुवा, सामाजिक कार्यकर्ता डा. ललित जी. सिँह, व्यवसायी खड़क सिँह, मुम्बई पोर्ट ट्रस्टका लक्ष्मण एन. सुनार, हनीवेल कम्पनीका प्रोडक्सन विशेषज्ञ बृजेश दमाई, निजी व्यवसायी सुजाता राई, सिमा राई, मिना राई, मुन्ना राई, सुनिका राई, माधवी शर्मा आदि।
कार्यक्रममा पदम भुल, सकुन सिँह राई अनि युवराज नेउपाने विभिन्न गीतहरू प्रस्तुत गरेर मनोरञ्जन पनि गराएका थिए। यसरी नै आगामी बसिबियाँलोलाई भानुजयन्तीका रुपमा पालन गरिने जानकारीसहित दोस्रो प्रकरणका घरपटीले सबैलाई धन्यबाद प्रदान गरे।

No comments:

Post a Comment