Monday, July 9, 2018

सुनखरी महिला समाजद्वारा क्यांसर पीड़ितलाई आर्थिक सहयोग


मुम्बई 9 जुलाई
– भारतको आर्थिक राजधानी मुम्बईमा स्थायी रुपमा बसोबासो गरेर आइरहेका गोर्खा महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजले आफ्ना कल्याणकारी गतिविधिहरूलाई जारी राख्दै हिजो क्यांसर पीड़ित रोगी केदार सुब्बालाई आर्थिक सहयोग गरी उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यहाँको नयगाउँमा रहिरहेका केदार सुब्बाको निवासमा सुनखरी महिला समाजका सक्रिय कार्यकर्ताहरू उप-सभापति रजनी थापा, मूल सचिव विष्णु सिँह, उप-सचिव ज्योत्स्ना राव अनि कार्यकारी सदस्या रीमा राईले भ्रमण गरेर रोगी व्यक्तिको वर्तमान अवस्थाबारे जानकारी लिए अनि उनको शीघ्र स्वास्थ्य आरोग्यको कामना गर्दै आर्थिक अनुदानस्वरुप रुपियाँ 10 हजारको अनुदान प्रदान गरे।
उल्लेखनीय छ, नयगाउँ निवासी केदार सुब्बा एक नामुद नृत्य प्रशिक्षकका रुपमा परिचित छन्। यद्यपि गलामा क्यांसर रोग सुरू भएदेखि उनको आर्थिक अवस्था धेरै कमजोर भएर गएको छ अनि उनी हालमा बेरोजगार भएका छन्। यसैबिच यहाँको प्रख्यात टाटा क्यांसर अस्पतालमा उनको उपचार गरिरहेका डाक्टरले सुब्बाको शल्य चिकित्साका लागि पाँच लाख रुपियाँ जोगाड़ गर्नुपर्ने सुझाउ दिएका कारण रोगी व्यक्तिको परिवारले धेरै कठिनाइको सामना गर्नुपरिरहेको छ। सुब्बालाई नियमित रुपमा रेडिएसनको आवश्यकता परिरहेको जानकारी दिँदै सुनखरी महिला समाजकी उप-सभापति रजनी थापाले हालमा उनको रेडिएसन थाणेमा चलिरहेको बताएकी छिन्।
श्रीमती थापाले आर्थिक रुपले कमजोर रहेका नृत्य निर्देशक केदार सुब्बाको उपचारका लागि सबैलाई अघि आइदिने आह्वान् गर्दै सहयोग गर्ने इच्छुकवर्गले सोझै फोन नम्बर 9833570660 वा 9833816022 –मा सम्पर्क गर्ने अनुरोध गरेका छन्।
ज्ञातव्य छ, आफ्नो स्थापनाकालदेखि नै मुम्बईमा दीर्घ दिनदेखि बसोबासो गरेर आइरहेका नेपालीभाषी गोर्खा महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजका घरेलु महिलाहरूले यस्ता हितकारी कार्यहरू निष्पादन गर्दै आइरहेको छ। मिरा रोडलगायत मुम्बईका प्रायः सबै स्थानहरूमा रहिरहेका घरेलु महिलाहरूले विशेष गरी मुम्बईबाहिरबाट आएका नेपाली रोगीहरूको सहयोग गर्ने काममा सदैव आफुलाई तत्पर राखेको बताउँदै यस संस्थाले प्रत्येक वर्ष भानुजयन्ती अनि गोर्खा मेलाको आयोजना गर्ने परम्परा बसाएको जानकारी यसकी सचिव विष्णु सिँहले दिएकी छिन्। यसरी सामाजिक कार्यमा दत्तचित्तले अघि आइरहेका नेपाली महिलाहरूको संस्थाले तर मुम्बईमा अन्य जातिको जस्तै आफ्नो गोर्खा भवनको भने अभाव रहेको हुनाले यस दिशामा पनि पहल गरिरहेको जानकारी श्रीमती सिँहले दिएकी छिन्। यसै विषयलाई अघि बढ़ाउँदै यस संस्थाको पहलमा चाँड़ै नै यहाँको क्यांसर अस्पतालको छेउछाउ  एउटा किराइको घर लिएर भए पनि गोर्खा आश्रम सुरू गर्ने योजना बनाइरहेको जानकारी पनि उनले दिएकी छिन्। यसबारे चाँड़ै नै एउटा समिति गठन गरेर देशभरिका शुभचिन्तकहरूप्रति सहयोगको अपिल गर्ने पनि उनले बताएकी छिन्।

No comments:

Post a Comment