Tuesday, October 9, 2018


सिकेर कहिल्यै नथाक्ने कलाकार
                                                    सार्थक उपाध्याय

-          हीरा छेत्री
एन्टप हिल, मुम्बई - 37


नेपालीभाषी कलाकार तथा तकनिकी प्रतिभाहरूको यहाँको बलिउडको फिल्म उद्योगका विभिन्न विधाहरूमा टड़कारो उपस्थिति छ। अभिनय कलादेखि लिएर, छायाङ्कन, भेषभूषा, सिँगार, कथालेखन, निर्देशन, सम्पादन, नाच, साउन्ड मिक्सिङ, सङ्गीत, गीत लेखन, संवाद लेखन, कास्टिङ डाइरेक्सन इत्यादि सबै क्षेत्रमै दखल गरेर नेपालीभाषी प्रतिभाहरू बलिउडसित गाँसिएका छन्। कतिजना  सानु-पर्दा अथवा टिभी-सित जोड़िएर काम गरिरहेका छन् भने कतिजना रजत पर्दामा छन्। कतिजना आफुलाई स्थापित तुल्याएर आफ्नो परिचय बनाइसकेका छन् भने कतिजना कलाको यस भुमरीभित्र आफ्नो परिचय बनाउन सङ्घर्षरत् छन्। माला सिन्हा, डेनी डेन्जोङपा, मनिषा कोइराला, लुइस ब्याङ्क, बिनोद प्रधान, सुषमा श्रेष्ठ उर्फ पूर्णिमा, सुनील थापा, मुरली मिझार, रञ्जीत गजमेर, भूषण लकान्द्री, प्रमोद प्रधान आदि यस्ता नाउँ हुन् जो बलिउडमा नेपालीभाषीहरूको अलग छवि कायम गर्नमा सफल बनिसकेका छन्। यसरी नै अन्य यस्ता प्रतिभाशाली व्यक्तिहरू छन् जसले आफ्नो कलाको माध्यमद्वारा बलिउडमा महत्त्वपूर्ण योगदान गरेर नाउँ कमाइरहेका छन्। अर्को एक जमात यस्तो छ जो सङ्घर्षशील छ यो दुनियाँमा आफ्नो परिचय कायम राख्न जसका लागि दिनरात मिहिनेत गरेर, पसिना बगाएर खटिरहेको छ।
            सिने जगतको सुरुआती दौरमा परेका कारण पुराना स्थापित कलाकारहरूले पाउनुपर्ने मार्गदर्शन पर्याप्त रुपमा पाएनन्। तत्कालीन परिस्थितिमा सूचना प्रचार-प्रसारका साधनहरू खुबै कम हुनाले उनीहरूले धेरै मिहिनेत र कष्ट गर्नुपरेको कुरा हामी ती कलाकारहरूको जीवनी पढ़्दा वा उनीहरूको अन्तर्वार्ता समयसमयमा पढ़्दा बुझ्ने गर्छौँ। त्यसको तुलनामा आजका प्रतिभाहरूलाई सूचनाको खाँचो धेर छैन, जानकारीको अभाव छैन तर उनीहरूलाई चाहिएको हुन्छ उचित मार्गदर्शन। यस कार्यमा पुराना स्थापित धेरै कलाकारहरूले हाम्रा नयाँ प्रतिभाहरूलाई सहयोग पुऱ्याइरहेको उदाहरण खुबै कम देखिन्छ। एकाध स्थापित कलाकारहरू यस दिशामा अघि आएका छन् भने कतिपय कलाकारहरू आफ्नो व्यस्तताले हो वा अन्य कुनै कारणवश नवीन प्रतिभाहरूलाई मौका दिने, बाटो देखाउने, मार्ग दर्शन गराउने, सुझाउ र सल्लाह दिने काममा सक्रिय रहेको बुझिन्न। हुनसक्छ कसैले उनीहरूअघि मद्दत वा सहयोग नमागेको कारण पनि यस्तो भइरहेको हो।
            यस्तो स्थितिमा पूर्ण रुपले व्यावसायिक अनि पेशागत बेपारधन्दाको जगत् यो बलिउडमा स्थापितदेखि लिएर नवप्रतिभा स्तरसम्मका नेपालीभाषी कलाकारहरू एउटै मञ्चमा आएर एकत्र हुनु समयको माग भएको छ। यसो हुँदा यिनीहरू सबै एकअर्काका सम्पूरक बनेर धेरैवटा यस्ता काम गर्नसक्नेछन् जो सम्पूर्ण जातिको लागि ठुलो उपलब्धि भएर जानसक्छ। आज बलिउडमा हाम्रा प्रतिभाहरू केवल अभिनयको दुनियाँमा मात्रै सीमित छैनन् तर तकनिकीको क्षेत्रमा पनि उनीहरू उत्तिकै अघि आइसकेका छन्। तर उनीहरूमाझ उचित परिचयको कमी हुनाले, सम्पर्कको अभाव हुनाले साझा रुपमा निष्पादन गर्नसकिने कतिपय महत्त्वपूर्ण कामहरू हुनसकिरहेको छैन।
            यस्तै खालको विचार पोखेका छन् बलिउडमा भर्खरै भित्रिएका युवा प्रतिभा तथा साउन्ड इन्जिनियर सार्थक उपाध्यायले। मुम्बई पसेको केवल चार महिनाको अवधिमा चारपाँचवटा चर्चित बलिउड चलचित्रको ध्वनि अभियान्त्रिकी क्षेत्रमा आफ्नो भूमिका पालन गरेर अझ अघि बढ़िरहेका एक्लो अनि यहाँको दुनियाँसित अल्परिचित युवा कलाकार सार्थक उपाध्याय काठमान्डौँको बत्तीसपुतली निवासी हुन्। 4 मार्च, 1986 -का दिन काठमान्डौँको प्रतिभाशाली परिवारमा जन्म ग्रहण गरेका सार्थक उपाध्यायका पिता हुन् समिर उपाध्याय अनि माता रिता उपाध्याय। नेपालमा यो उपाध्याय परिवारको नाउँसुवास चारैतिर फैलिएको छ। बुल्गेरियाली काउंसुलेटमा मध्यस्थकर्ताका रुपमा सेवारत पिताजी समिर उपाध्याय अनि पद्म कन्या क्याम्पसकी नेपाली लेक्चरर तथा प्रख्यात भजन गायिका माता रिता उपाध्यायलाई नचिन्ने काठमान्डौँमा खुबै कम होलान्। 59 वर्षीया रिता उपाध्यायको गीत कालापानी-ले उधुम मच्याएको त सबैलाई थाहै छ। यस्तो परिवारमा जन्म ग्रहण गरेर हुर्केका सार्थक पनि कलिलै उमेरदेखि सिर्जनात्मक क्षेत्रतिर आकृष्ट बन्नु  कुनै अचम्मको कुरो हैन। शास्त्रीय सङ्गीतको शिक्षा ग्रहण गरे तापनि स्नातकीय तह भने पूर्ण गर्न नपाएका सार्थकले त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षीय ब्याचलर अफ फिल्म स्टडिज इन अडियोग्राफी आथवा साउन्ड इन्जिनियरिङ पुरा गरेका हुन्। यसरी नै उनले रोडे माइक्रोफोन Rode Microphone अस्ट्रेलियाबाट तालिम पनि प्राप्त गरेका हुन्। यति मात्रै हैन सार्थकले काठमान्डौँकै टीआईई इंस्टिट्युटको एकाडेमी अफ अडियो रेकर्डिङ टेकनिकबाट साउन्ड रेकर्डिङमा डिप्लोमा अनि भारतको नवी मुम्बईस्थित अस्किलेट टेक्निकल इंस्टिट्युटबाट इलेक्ट्रोनिक फोटोग्राफी वा फिल्म प्रोडक्सनको अध्ययन पनि गरेका छन्। साउन्ड इन्जिनियरिङलाई मुख्य विधाका रुपमा लिएर आफ्नो परिचय कायम भएको इच्छा राख्ने सार्थकसित बलिउड प्रवेश गर्नअगि नेपालमा रहेर यस्ता धेरै कार्यहरूको गरेको अनुभव रहेको छ। वास्तवमा यी अनुभवहरू नै उनका लागि मुम्बईमा छोटो समयमा आफ्नो खुट्टामा उभिनसक्ने क्षमता दिलाउनमा सहयोगी सिद्ध भएका हुन्। बलिउडमा यसरी प्रवेश गरेर काम गर्ने मौका हातमा लागिसकेपछि पनि तर सार्थक आफ्नो ज्ञानको भण्डार अझ उच्च राख्नलाई साउन्ड इन्जिनियरिङमा पोस्ट ग्रेजुएसन गर्न लालायित छन् र यहाँको पुणेस्थित एफटीआईआई -बाट अकस्टिक इन्जिनियरिङको तयारीमा लागिपरेका छन् हालमा।
            सार्थकका ठुलाबाबा प्रदीप कुमार उपाध्यायले पनि 70 –को दशकमा पुणेको एफटीआईआई-बाट साउन्ड इन्जिनियरिङ नै अध्ययन गरेर नेपाल फर्की त्यहाँ म्युजिक नेपालको स्थापना गरेका थिए। नेपालका प्रथम साउन्ड इन्जिनियरका रुपमा परिचित उनका ठुलाबाबाले नारायण गोपालको गीति यात्रा जस्ता विभिन्न प्रसिद्ध निर्माणहरू तयार गरेका हुन्। उनै ठुलाबाबाको अगुवाइमा सार्थकले पनि सानादेखि नै यो दिशामा काम सिक्ने प्रेरणा र प्रोत्साहन पाएका हुन्।
            काठमान्डौँको डेफोडिल्स पब्लिक स्कुल, पेनवुड एकाडेमी अनि ब्रिटिस काउंसिलबाट क्याम्ब्रिजको पैलो स्तरदेखि बाह्रौँ कक्षासम्मको अध्ययन गरेका सार्थकले नेपालका धेरै निर्माणहरूमा काम गरेका छन्। विशेष गरी लोकेसन साउन्ड इन्जिनियरिङको व्यवसायमा स्थापित सार्थकले विदेशका फिल्म निर्माणमा पनि महत्त्वपूर्ण तकनिकी भूमिका निर्वाह गरिसकेका छन्। इन्भोक लोकेसन साउन्ड सिस्टम र इन्भोक क्यामेरा रेन्टल चलाएर आफुसँगसँगै अनुजहरूलाई पनि मार्गदर्शन गराउँदै आएका सार्थकले नेपालीलगायत ब्रितेन, अमेरिका, युरोप, भारत, जर्मनीका ठुलासाना सिनेमा, डक्युमन्ट्रीसित काम गरेर अनुभव बटुलिसकेका छन्। नेपालीमा निर्मित अमेरिकन बोइज, नाका अनि इताली भाषाको डिम्मी चिसोन्नो, ब्रितेनको अस्मिना आदिसित सम्बन्धित भएर स्वतन्त्र रुपले काम गर्दा उनले धेरै अनुभव बटुल्ने मौका पाए। उनलाई यस्ता निर्माणसित जोड़िएर नेपालमै व्यावसायिक धन्दा गर्दा सबै पुग्दो नै थियो। चलिरहेको थियो, चाहिँदो पैसा थियो, यश पनि थियो। तर आफ्नो कामलाई अझ धेरै तिक्खर बनाउने उनको इच्छा छ। सिर्जनालाई अझ उच्चकोटीमा पुऱ्याउने उनको चाहना छ। व्यावहारिक ज्ञान लिने चाहना छ। स्तरीय फिल्म निर्माण गर्ने उद्देश्य छ। मूलतः प्रयोगात्मक काम गर्ने उनको रहर छ। आफुभन्दा अनुभवी अनि ज्ञानी वरिष्ठ तकनिसियनहरूबाट सिक्ने सपना छ ताकि त्यसबाट बटुलेको अनुभवले नेपाली सिने संसारको विकासमा थप योगदान गर्नसकून्। यसैले उनी मुम्बई भित्रिएका हुन् एक सिकौरेको रुपमा। उनी ज्ञानी भएर आएका हैनन् यहाँ तर सिक्ने इच्छा, अध्ययन गर्ने सोच लिएर आएका हुन्। उनी भन्छन् नेपालमा व्यवसाय छ तर व्यक्तिगत रुपमा विकसित हुने मौका न्यून छ। सानु कुवामा ठुलो माछा भएर पौड़िनुभन्दा असल हुन्छ ठुलो कुवामा सानु माछा भएर पौड़नु, उनी भन्छन्। यहाँ मुम्बई आएर सिनियरहरूलाई एसिस्ट गर्न पाउनु नै पनि आफ्नोलागि ठुलो उपलब्धि हुनेछ भन्ने ठान्ने सार्थकले नेपालमा रहँदा पनि आफ्नो ज्ञान र अनुभव जुनियरहरूलाई बाँडेका हुन्। यसो गरेर उनले बुम, लोकेसन रिकर्डिङको दिशामा युवाहरूलाई धेरै कुरा सिकाएका पनि छन्। यहाँ आज प्राप्त गरिरहेका ज्ञान र अनुभवलाई फेरि नेपालमा लगेर त्यहाँका युवा प्रतिभाहरूसित अझ उचित ढङ्गले साझा गर्ने, मार्ग निर्देशन गर्ने र नेपाली चलचित्रलाई अझ उन्नतशील बनाउने सपना उनको छ। उनले नेपालमा रहँदा बाटो देखाएका युवा कलाकारहरू आज त्यहाँका राम्रा राम्रा धारावाहिकहरूमा काम गरिरहेका छन् जसमा सिँह दरबार टेलिश्रृङ्खलाका सम्राट खनाल, अनुप खतिवड़ा आदि प्रमुख रहेका छन्।
            यसरी नेपाली चलचित्र उद्योगलाई भावी दिनहरूमा केही योगदान गरेर विश्वस्तरको हाँचमा पुऱ्याउने काम गर्ने अठोट लिएर मुम्बई भित्रिएका सार्थकले चार महिनाको समयकालभित्र धेरै तितामिठा अनुभवहरू बटुलेका छन् यहाँ। व्यावसायिक प्रदेश मुम्बईमा प्रवेश गर्नेबित्तिकै देखि सङ्घर्ष र चुनौतीले पूर्ण समय बिताउनुपरिरहेको सार्थक हालमा भने केही सन्तुलित देखिन्छन्। यहाँ पस्नेबित्तिकै उनका निजी सरसामानहरू चोरी भएको घटना, बस्ने ठाउँ नपाएर यताउति भट्किएको घटना, साथ पाउने आशा लिएर आएका साथीभाइहरूबाट भनेजस्तो सहयोग नपाएको घटनाले उनलाई अझ बलियो बनायो चार महिनाभित्रै।
            नेपालमा रहँदै उनले नेटमार्फत् यहाँका साउन्ड इन्जिनियरिङका दिग्गजहरूसित सम्पर्क साँध्न थालेका थिए र कतिजनाबाट सकारात्मक प्रत्युत्तर पाएपछि आफ्नो छँदाखाँदैको व्यावसायिक पेशालाई स्थगित राखेर उनी मुम्बई भित्रिएका हुन् गत जून महिनामा मात्रै। नेटमार्फत् गाँसिएका एकजना सहयोगी शान्तानु हुदलीकर मार्फत् उनी यशराज फिल्म्समा पुगे। शान्तानु यशराज फिल्म्सको स्टुडियो वानका वरिष्ठ साउन्ड इन्जिनियर हुन् अनि हेड पनि हुन्। शान्तानुले उनलाई यशराजमै बस्ने ठाउँ पनि दिए। यसअघि सार्थक नवी मुम्बईमा रहँदा धेरै कठिनाइको सामना गर्नुपरेको बताउँछन्। साउन्ड इन्जिनियरिङको क्षेत्रमा सालानी मुम्बईमा नभनेको पनि तीनचारसय प्रतिभाहरू उम्रिन्छन्। सार्थकले आफ्नो प्रतिभाको कारण यस्ता उम्मेद्वारहरूलाइ उछिन्दै छनौट हुने मौका पाए देशको प्रख्यात फिल्म निर्माण कम्पनीमा। शान्तानुजस्ता मेन्टरका रुपमा उनले अन्य स्थापित प्रतिभाहरूको पनि सहयोग पाइरहेका छन्। नकुल काम्टे, बिनोद सुब्रमनियन, फराद के. डेडिबुजोर आदि यस्ता व्यक्तिहरू हुन् जो हिन्दी चलचित्रको साउन्ड इन्जिनियरिङको क्षेत्रमा सम्माननीय नाउँहरू हुन्। यिनीहरूको संसर्गमा आएपछि सार्थकले चार महिनाको अल्पावधिमै हिन्दीलगायत मराठी, तेलुगू आदि फिल्महरूतिर पनि आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्। हालमा एसिस्टेन्ट साउन्ड इन्जिनियर बनेर इनटर्नशिप गरिरहेका सार्थकको तर सक्सेस रेट खुबै उच्च छ। भर्खरैको हिट फिल्म सुई धागालगायत आगामी फिल्महरू हाउस फुल-4, बनफाड़, पागल आदिमा उनले काम गरेका छन्।
            आफ्नो परिवारका सबै सदस्य र अगुवाहरू शिक्षित अनि अध्ययनप्रेमी भएका कारण आफुमा पनि त्यही गुण विद्यमान् रहेको बताउने सार्थक पढ़ाइलाई सधैँ प्राथमिकता दिन्छन्। साउन्ड इन्जिनियरिङको क्षेत्रमा स्थापित नाउँ बनाइसकेका सार्थकलाई नेपालमा सङ्गीतकारका रुपमा पनि चिनिन्छ। शास्त्रीय सङ्गीतको तालिमप्राप्त प्रतिभा सार्थकले सबै किसिमका वाद्ययन्त्रहरू बजाउने गर्दछन्।
            यस्ता बहुप्रतिभाका धनी सार्थक मुम्बई आइपुगेको केवल चार महिनाको अनुभव बाँड़्दै भन्छन्, बलिउडमा धेरै नेपालीभाषी प्रतिभाहरू फिल्म निर्माणका विभिन्न विधामा दीर्घ दिनदेखि सेवारत् छन्। तर उनीहरूमाझ एकअर्कामा भेटघाट, सम्पर्कको कमी छ। यी सबै वरिष्ठ, कनिष्ठ, सङ्घर्षरत सबै कलाकारहरू एकै मञ्चमा आएर सङ्गठित हुनसके नेपाली चलचित्र निर्माणको दिशामा ठुलो योगदान हुनेछ अनि यसबाट सम्पूर्ण जातिले महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्नेछ। यसरी हामी नेपाली चलचित्र उद्योगलाई विश्व बजारमा पुऱ्याउनमा सक्षम हुनेछौँ। यति मात्रै होइन बलिउडमै पनि हामीले मिलेर धेरै काम गर्नसक्नेछौँ......
            बहुप्रतिभाका धनी सार्थक उपाध्यायको उज्ज्वल भविष्यको कामना गर्दै......

No comments:

Post a Comment