Tuesday, October 9, 2018


सिकेर कहिल्यै नथाक्ने कलाकार
                                                    सार्थक उपाध्याय

-          हीरा छेत्री
एन्टप हिल, मुम्बई - 37


नेपालीभाषी कलाकार तथा तकनिकी प्रतिभाहरूको यहाँको बलिउडको फिल्म उद्योगका विभिन्न विधाहरूमा टड़कारो उपस्थिति छ। अभिनय कलादेखि लिएर, छायाङ्कन, भेषभूषा, सिँगार, कथालेखन, निर्देशन, सम्पादन, नाच, साउन्ड मिक्सिङ, सङ्गीत, गीत लेखन, संवाद लेखन, कास्टिङ डाइरेक्सन इत्यादि सबै क्षेत्रमै दखल गरेर नेपालीभाषी प्रतिभाहरू बलिउडसित गाँसिएका छन्। कतिजना  सानु-पर्दा अथवा टिभी-सित जोड़िएर काम गरिरहेका छन् भने कतिजना रजत पर्दामा छन्। कतिजना आफुलाई स्थापित तुल्याएर आफ्नो परिचय बनाइसकेका छन् भने कतिजना कलाको यस भुमरीभित्र आफ्नो परिचय बनाउन सङ्घर्षरत् छन्। माला सिन्हा, डेनी डेन्जोङपा, मनिषा कोइराला, लुइस ब्याङ्क, बिनोद प्रधान, सुषमा श्रेष्ठ उर्फ पूर्णिमा, सुनील थापा, मुरली मिझार, रञ्जीत गजमेर, भूषण लकान्द्री, प्रमोद प्रधान आदि यस्ता नाउँ हुन् जो बलिउडमा नेपालीभाषीहरूको अलग छवि कायम गर्नमा सफल बनिसकेका छन्। यसरी नै अन्य यस्ता प्रतिभाशाली व्यक्तिहरू छन् जसले आफ्नो कलाको माध्यमद्वारा बलिउडमा महत्त्वपूर्ण योगदान गरेर नाउँ कमाइरहेका छन्। अर्को एक जमात यस्तो छ जो सङ्घर्षशील छ यो दुनियाँमा आफ्नो परिचय कायम राख्न जसका लागि दिनरात मिहिनेत गरेर, पसिना बगाएर खटिरहेको छ।
            सिने जगतको सुरुआती दौरमा परेका कारण पुराना स्थापित कलाकारहरूले पाउनुपर्ने मार्गदर्शन पर्याप्त रुपमा पाएनन्। तत्कालीन परिस्थितिमा सूचना प्रचार-प्रसारका साधनहरू खुबै कम हुनाले उनीहरूले धेरै मिहिनेत र कष्ट गर्नुपरेको कुरा हामी ती कलाकारहरूको जीवनी पढ़्दा वा उनीहरूको अन्तर्वार्ता समयसमयमा पढ़्दा बुझ्ने गर्छौँ। त्यसको तुलनामा आजका प्रतिभाहरूलाई सूचनाको खाँचो धेर छैन, जानकारीको अभाव छैन तर उनीहरूलाई चाहिएको हुन्छ उचित मार्गदर्शन। यस कार्यमा पुराना स्थापित धेरै कलाकारहरूले हाम्रा नयाँ प्रतिभाहरूलाई सहयोग पुऱ्याइरहेको उदाहरण खुबै कम देखिन्छ। एकाध स्थापित कलाकारहरू यस दिशामा अघि आएका छन् भने कतिपय कलाकारहरू आफ्नो व्यस्तताले हो वा अन्य कुनै कारणवश नवीन प्रतिभाहरूलाई मौका दिने, बाटो देखाउने, मार्ग दर्शन गराउने, सुझाउ र सल्लाह दिने काममा सक्रिय रहेको बुझिन्न। हुनसक्छ कसैले उनीहरूअघि मद्दत वा सहयोग नमागेको कारण पनि यस्तो भइरहेको हो।
            यस्तो स्थितिमा पूर्ण रुपले व्यावसायिक अनि पेशागत बेपारधन्दाको जगत् यो बलिउडमा स्थापितदेखि लिएर नवप्रतिभा स्तरसम्मका नेपालीभाषी कलाकारहरू एउटै मञ्चमा आएर एकत्र हुनु समयको माग भएको छ। यसो हुँदा यिनीहरू सबै एकअर्काका सम्पूरक बनेर धेरैवटा यस्ता काम गर्नसक्नेछन् जो सम्पूर्ण जातिको लागि ठुलो उपलब्धि भएर जानसक्छ। आज बलिउडमा हाम्रा प्रतिभाहरू केवल अभिनयको दुनियाँमा मात्रै सीमित छैनन् तर तकनिकीको क्षेत्रमा पनि उनीहरू उत्तिकै अघि आइसकेका छन्। तर उनीहरूमाझ उचित परिचयको कमी हुनाले, सम्पर्कको अभाव हुनाले साझा रुपमा निष्पादन गर्नसकिने कतिपय महत्त्वपूर्ण कामहरू हुनसकिरहेको छैन।
            यस्तै खालको विचार पोखेका छन् बलिउडमा भर्खरै भित्रिएका युवा प्रतिभा तथा साउन्ड इन्जिनियर सार्थक उपाध्यायले। मुम्बई पसेको केवल चार महिनाको अवधिमा चारपाँचवटा चर्चित बलिउड चलचित्रको ध्वनि अभियान्त्रिकी क्षेत्रमा आफ्नो भूमिका पालन गरेर अझ अघि बढ़िरहेका एक्लो अनि यहाँको दुनियाँसित अल्परिचित युवा कलाकार सार्थक उपाध्याय काठमान्डौँको बत्तीसपुतली निवासी हुन्। 4 मार्च, 1986 -का दिन काठमान्डौँको प्रतिभाशाली परिवारमा जन्म ग्रहण गरेका सार्थक उपाध्यायका पिता हुन् समिर उपाध्याय अनि माता रिता उपाध्याय। नेपालमा यो उपाध्याय परिवारको नाउँसुवास चारैतिर फैलिएको छ। बुल्गेरियाली काउंसुलेटमा मध्यस्थकर्ताका रुपमा सेवारत पिताजी समिर उपाध्याय अनि पद्म कन्या क्याम्पसकी नेपाली लेक्चरर तथा प्रख्यात भजन गायिका माता रिता उपाध्यायलाई नचिन्ने काठमान्डौँमा खुबै कम होलान्। 59 वर्षीया रिता उपाध्यायको गीत कालापानी-ले उधुम मच्याएको त सबैलाई थाहै छ। यस्तो परिवारमा जन्म ग्रहण गरेर हुर्केका सार्थक पनि कलिलै उमेरदेखि सिर्जनात्मक क्षेत्रतिर आकृष्ट बन्नु  कुनै अचम्मको कुरो हैन। शास्त्रीय सङ्गीतको शिक्षा ग्रहण गरे तापनि स्नातकीय तह भने पूर्ण गर्न नपाएका सार्थकले त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षीय ब्याचलर अफ फिल्म स्टडिज इन अडियोग्राफी आथवा साउन्ड इन्जिनियरिङ पुरा गरेका हुन्। यसरी नै उनले रोडे माइक्रोफोन Rode Microphone अस्ट्रेलियाबाट तालिम पनि प्राप्त गरेका हुन्। यति मात्रै हैन सार्थकले काठमान्डौँकै टीआईई इंस्टिट्युटको एकाडेमी अफ अडियो रेकर्डिङ टेकनिकबाट साउन्ड रेकर्डिङमा डिप्लोमा अनि भारतको नवी मुम्बईस्थित अस्किलेट टेक्निकल इंस्टिट्युटबाट इलेक्ट्रोनिक फोटोग्राफी वा फिल्म प्रोडक्सनको अध्ययन पनि गरेका छन्। साउन्ड इन्जिनियरिङलाई मुख्य विधाका रुपमा लिएर आफ्नो परिचय कायम भएको इच्छा राख्ने सार्थकसित बलिउड प्रवेश गर्नअगि नेपालमा रहेर यस्ता धेरै कार्यहरूको गरेको अनुभव रहेको छ। वास्तवमा यी अनुभवहरू नै उनका लागि मुम्बईमा छोटो समयमा आफ्नो खुट्टामा उभिनसक्ने क्षमता दिलाउनमा सहयोगी सिद्ध भएका हुन्। बलिउडमा यसरी प्रवेश गरेर काम गर्ने मौका हातमा लागिसकेपछि पनि तर सार्थक आफ्नो ज्ञानको भण्डार अझ उच्च राख्नलाई साउन्ड इन्जिनियरिङमा पोस्ट ग्रेजुएसन गर्न लालायित छन् र यहाँको पुणेस्थित एफटीआईआई -बाट अकस्टिक इन्जिनियरिङको तयारीमा लागिपरेका छन् हालमा।
            सार्थकका ठुलाबाबा प्रदीप कुमार उपाध्यायले पनि 70 –को दशकमा पुणेको एफटीआईआई-बाट साउन्ड इन्जिनियरिङ नै अध्ययन गरेर नेपाल फर्की त्यहाँ म्युजिक नेपालको स्थापना गरेका थिए। नेपालका प्रथम साउन्ड इन्जिनियरका रुपमा परिचित उनका ठुलाबाबाले नारायण गोपालको गीति यात्रा जस्ता विभिन्न प्रसिद्ध निर्माणहरू तयार गरेका हुन्। उनै ठुलाबाबाको अगुवाइमा सार्थकले पनि सानादेखि नै यो दिशामा काम सिक्ने प्रेरणा र प्रोत्साहन पाएका हुन्।
            काठमान्डौँको डेफोडिल्स पब्लिक स्कुल, पेनवुड एकाडेमी अनि ब्रिटिस काउंसिलबाट क्याम्ब्रिजको पैलो स्तरदेखि बाह्रौँ कक्षासम्मको अध्ययन गरेका सार्थकले नेपालका धेरै निर्माणहरूमा काम गरेका छन्। विशेष गरी लोकेसन साउन्ड इन्जिनियरिङको व्यवसायमा स्थापित सार्थकले विदेशका फिल्म निर्माणमा पनि महत्त्वपूर्ण तकनिकी भूमिका निर्वाह गरिसकेका छन्। इन्भोक लोकेसन साउन्ड सिस्टम र इन्भोक क्यामेरा रेन्टल चलाएर आफुसँगसँगै अनुजहरूलाई पनि मार्गदर्शन गराउँदै आएका सार्थकले नेपालीलगायत ब्रितेन, अमेरिका, युरोप, भारत, जर्मनीका ठुलासाना सिनेमा, डक्युमन्ट्रीसित काम गरेर अनुभव बटुलिसकेका छन्। नेपालीमा निर्मित अमेरिकन बोइज, नाका अनि इताली भाषाको डिम्मी चिसोन्नो, ब्रितेनको अस्मिना आदिसित सम्बन्धित भएर स्वतन्त्र रुपले काम गर्दा उनले धेरै अनुभव बटुल्ने मौका पाए। उनलाई यस्ता निर्माणसित जोड़िएर नेपालमै व्यावसायिक धन्दा गर्दा सबै पुग्दो नै थियो। चलिरहेको थियो, चाहिँदो पैसा थियो, यश पनि थियो। तर आफ्नो कामलाई अझ धेरै तिक्खर बनाउने उनको इच्छा छ। सिर्जनालाई अझ उच्चकोटीमा पुऱ्याउने उनको चाहना छ। व्यावहारिक ज्ञान लिने चाहना छ। स्तरीय फिल्म निर्माण गर्ने उद्देश्य छ। मूलतः प्रयोगात्मक काम गर्ने उनको रहर छ। आफुभन्दा अनुभवी अनि ज्ञानी वरिष्ठ तकनिसियनहरूबाट सिक्ने सपना छ ताकि त्यसबाट बटुलेको अनुभवले नेपाली सिने संसारको विकासमा थप योगदान गर्नसकून्। यसैले उनी मुम्बई भित्रिएका हुन् एक सिकौरेको रुपमा। उनी ज्ञानी भएर आएका हैनन् यहाँ तर सिक्ने इच्छा, अध्ययन गर्ने सोच लिएर आएका हुन्। उनी भन्छन् नेपालमा व्यवसाय छ तर व्यक्तिगत रुपमा विकसित हुने मौका न्यून छ। सानु कुवामा ठुलो माछा भएर पौड़िनुभन्दा असल हुन्छ ठुलो कुवामा सानु माछा भएर पौड़नु, उनी भन्छन्। यहाँ मुम्बई आएर सिनियरहरूलाई एसिस्ट गर्न पाउनु नै पनि आफ्नोलागि ठुलो उपलब्धि हुनेछ भन्ने ठान्ने सार्थकले नेपालमा रहँदा पनि आफ्नो ज्ञान र अनुभव जुनियरहरूलाई बाँडेका हुन्। यसो गरेर उनले बुम, लोकेसन रिकर्डिङको दिशामा युवाहरूलाई धेरै कुरा सिकाएका पनि छन्। यहाँ आज प्राप्त गरिरहेका ज्ञान र अनुभवलाई फेरि नेपालमा लगेर त्यहाँका युवा प्रतिभाहरूसित अझ उचित ढङ्गले साझा गर्ने, मार्ग निर्देशन गर्ने र नेपाली चलचित्रलाई अझ उन्नतशील बनाउने सपना उनको छ। उनले नेपालमा रहँदा बाटो देखाएका युवा कलाकारहरू आज त्यहाँका राम्रा राम्रा धारावाहिकहरूमा काम गरिरहेका छन् जसमा सिँह दरबार टेलिश्रृङ्खलाका सम्राट खनाल, अनुप खतिवड़ा आदि प्रमुख रहेका छन्।
            यसरी नेपाली चलचित्र उद्योगलाई भावी दिनहरूमा केही योगदान गरेर विश्वस्तरको हाँचमा पुऱ्याउने काम गर्ने अठोट लिएर मुम्बई भित्रिएका सार्थकले चार महिनाको समयकालभित्र धेरै तितामिठा अनुभवहरू बटुलेका छन् यहाँ। व्यावसायिक प्रदेश मुम्बईमा प्रवेश गर्नेबित्तिकै देखि सङ्घर्ष र चुनौतीले पूर्ण समय बिताउनुपरिरहेको सार्थक हालमा भने केही सन्तुलित देखिन्छन्। यहाँ पस्नेबित्तिकै उनका निजी सरसामानहरू चोरी भएको घटना, बस्ने ठाउँ नपाएर यताउति भट्किएको घटना, साथ पाउने आशा लिएर आएका साथीभाइहरूबाट भनेजस्तो सहयोग नपाएको घटनाले उनलाई अझ बलियो बनायो चार महिनाभित्रै।
            नेपालमा रहँदै उनले नेटमार्फत् यहाँका साउन्ड इन्जिनियरिङका दिग्गजहरूसित सम्पर्क साँध्न थालेका थिए र कतिजनाबाट सकारात्मक प्रत्युत्तर पाएपछि आफ्नो छँदाखाँदैको व्यावसायिक पेशालाई स्थगित राखेर उनी मुम्बई भित्रिएका हुन् गत जून महिनामा मात्रै। नेटमार्फत् गाँसिएका एकजना सहयोगी शान्तानु हुदलीकर मार्फत् उनी यशराज फिल्म्समा पुगे। शान्तानु यशराज फिल्म्सको स्टुडियो वानका वरिष्ठ साउन्ड इन्जिनियर हुन् अनि हेड पनि हुन्। शान्तानुले उनलाई यशराजमै बस्ने ठाउँ पनि दिए। यसअघि सार्थक नवी मुम्बईमा रहँदा धेरै कठिनाइको सामना गर्नुपरेको बताउँछन्। साउन्ड इन्जिनियरिङको क्षेत्रमा सालानी मुम्बईमा नभनेको पनि तीनचारसय प्रतिभाहरू उम्रिन्छन्। सार्थकले आफ्नो प्रतिभाको कारण यस्ता उम्मेद्वारहरूलाइ उछिन्दै छनौट हुने मौका पाए देशको प्रख्यात फिल्म निर्माण कम्पनीमा। शान्तानुजस्ता मेन्टरका रुपमा उनले अन्य स्थापित प्रतिभाहरूको पनि सहयोग पाइरहेका छन्। नकुल काम्टे, बिनोद सुब्रमनियन, फराद के. डेडिबुजोर आदि यस्ता व्यक्तिहरू हुन् जो हिन्दी चलचित्रको साउन्ड इन्जिनियरिङको क्षेत्रमा सम्माननीय नाउँहरू हुन्। यिनीहरूको संसर्गमा आएपछि सार्थकले चार महिनाको अल्पावधिमै हिन्दीलगायत मराठी, तेलुगू आदि फिल्महरूतिर पनि आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्। हालमा एसिस्टेन्ट साउन्ड इन्जिनियर बनेर इनटर्नशिप गरिरहेका सार्थकको तर सक्सेस रेट खुबै उच्च छ। भर्खरैको हिट फिल्म सुई धागालगायत आगामी फिल्महरू हाउस फुल-4, बनफाड़, पागल आदिमा उनले काम गरेका छन्।
            आफ्नो परिवारका सबै सदस्य र अगुवाहरू शिक्षित अनि अध्ययनप्रेमी भएका कारण आफुमा पनि त्यही गुण विद्यमान् रहेको बताउने सार्थक पढ़ाइलाई सधैँ प्राथमिकता दिन्छन्। साउन्ड इन्जिनियरिङको क्षेत्रमा स्थापित नाउँ बनाइसकेका सार्थकलाई नेपालमा सङ्गीतकारका रुपमा पनि चिनिन्छ। शास्त्रीय सङ्गीतको तालिमप्राप्त प्रतिभा सार्थकले सबै किसिमका वाद्ययन्त्रहरू बजाउने गर्दछन्।
            यस्ता बहुप्रतिभाका धनी सार्थक मुम्बई आइपुगेको केवल चार महिनाको अनुभव बाँड़्दै भन्छन्, बलिउडमा धेरै नेपालीभाषी प्रतिभाहरू फिल्म निर्माणका विभिन्न विधामा दीर्घ दिनदेखि सेवारत् छन्। तर उनीहरूमाझ एकअर्कामा भेटघाट, सम्पर्कको कमी छ। यी सबै वरिष्ठ, कनिष्ठ, सङ्घर्षरत सबै कलाकारहरू एकै मञ्चमा आएर सङ्गठित हुनसके नेपाली चलचित्र निर्माणको दिशामा ठुलो योगदान हुनेछ अनि यसबाट सम्पूर्ण जातिले महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्नेछ। यसरी हामी नेपाली चलचित्र उद्योगलाई विश्व बजारमा पुऱ्याउनमा सक्षम हुनेछौँ। यति मात्रै होइन बलिउडमै पनि हामीले मिलेर धेरै काम गर्नसक्नेछौँ......
            बहुप्रतिभाका धनी सार्थक उपाध्यायको उज्ज्वल भविष्यको कामना गर्दै......

Monday, July 9, 2018

सुनखरी महिला समाजद्वारा क्यांसर पीड़ितलाई आर्थिक सहयोग


मुम्बई 9 जुलाई
– भारतको आर्थिक राजधानी मुम्बईमा स्थायी रुपमा बसोबासो गरेर आइरहेका गोर्खा महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजले आफ्ना कल्याणकारी गतिविधिहरूलाई जारी राख्दै हिजो क्यांसर पीड़ित रोगी केदार सुब्बालाई आर्थिक सहयोग गरी उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यहाँको नयगाउँमा रहिरहेका केदार सुब्बाको निवासमा सुनखरी महिला समाजका सक्रिय कार्यकर्ताहरू उप-सभापति रजनी थापा, मूल सचिव विष्णु सिँह, उप-सचिव ज्योत्स्ना राव अनि कार्यकारी सदस्या रीमा राईले भ्रमण गरेर रोगी व्यक्तिको वर्तमान अवस्थाबारे जानकारी लिए अनि उनको शीघ्र स्वास्थ्य आरोग्यको कामना गर्दै आर्थिक अनुदानस्वरुप रुपियाँ 10 हजारको अनुदान प्रदान गरे।
उल्लेखनीय छ, नयगाउँ निवासी केदार सुब्बा एक नामुद नृत्य प्रशिक्षकका रुपमा परिचित छन्। यद्यपि गलामा क्यांसर रोग सुरू भएदेखि उनको आर्थिक अवस्था धेरै कमजोर भएर गएको छ अनि उनी हालमा बेरोजगार भएका छन्। यसैबिच यहाँको प्रख्यात टाटा क्यांसर अस्पतालमा उनको उपचार गरिरहेका डाक्टरले सुब्बाको शल्य चिकित्साका लागि पाँच लाख रुपियाँ जोगाड़ गर्नुपर्ने सुझाउ दिएका कारण रोगी व्यक्तिको परिवारले धेरै कठिनाइको सामना गर्नुपरिरहेको छ। सुब्बालाई नियमित रुपमा रेडिएसनको आवश्यकता परिरहेको जानकारी दिँदै सुनखरी महिला समाजकी उप-सभापति रजनी थापाले हालमा उनको रेडिएसन थाणेमा चलिरहेको बताएकी छिन्।
श्रीमती थापाले आर्थिक रुपले कमजोर रहेका नृत्य निर्देशक केदार सुब्बाको उपचारका लागि सबैलाई अघि आइदिने आह्वान् गर्दै सहयोग गर्ने इच्छुकवर्गले सोझै फोन नम्बर 9833570660 वा 9833816022 –मा सम्पर्क गर्ने अनुरोध गरेका छन्।
ज्ञातव्य छ, आफ्नो स्थापनाकालदेखि नै मुम्बईमा दीर्घ दिनदेखि बसोबासो गरेर आइरहेका नेपालीभाषी गोर्खा महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजका घरेलु महिलाहरूले यस्ता हितकारी कार्यहरू निष्पादन गर्दै आइरहेको छ। मिरा रोडलगायत मुम्बईका प्रायः सबै स्थानहरूमा रहिरहेका घरेलु महिलाहरूले विशेष गरी मुम्बईबाहिरबाट आएका नेपाली रोगीहरूको सहयोग गर्ने काममा सदैव आफुलाई तत्पर राखेको बताउँदै यस संस्थाले प्रत्येक वर्ष भानुजयन्ती अनि गोर्खा मेलाको आयोजना गर्ने परम्परा बसाएको जानकारी यसकी सचिव विष्णु सिँहले दिएकी छिन्। यसरी सामाजिक कार्यमा दत्तचित्तले अघि आइरहेका नेपाली महिलाहरूको संस्थाले तर मुम्बईमा अन्य जातिको जस्तै आफ्नो गोर्खा भवनको भने अभाव रहेको हुनाले यस दिशामा पनि पहल गरिरहेको जानकारी श्रीमती सिँहले दिएकी छिन्। यसै विषयलाई अघि बढ़ाउँदै यस संस्थाको पहलमा चाँड़ै नै यहाँको क्यांसर अस्पतालको छेउछाउ  एउटा किराइको घर लिएर भए पनि गोर्खा आश्रम सुरू गर्ने योजना बनाइरहेको जानकारी पनि उनले दिएकी छिन्। यसबारे चाँड़ै नै एउटा समिति गठन गरेर देशभरिका शुभचिन्तकहरूप्रति सहयोगको अपिल गर्ने पनि उनले बताएकी छिन्।

Sunday, June 24, 2018



मुम्बईवासी नेपालीभाषीहरूको उत्साहको अघि मुलसधारे बर्खा नतमस्तक

बसिबियाँलो-को दोस्रो प्रकरणमा महिला अनि युवाहरूको अधिक उपस्थिति

बसिबियाँलो-को परिचय राख्दै युवा लेखक हीरा छेत्री
विभिन्न इलाकाबाट भेला भएका सहयात्रीहरू
मुम्बई – 24 जूनको बिहानैदेखि बर्खायामको सिकार बनेर देशभरिका मिडियाको शिर्षक समाचार बनेको विश्वको सबैभन्दा व्यस्ततम महानगरीहरूमा एक भने गन्तीमा आउने मुम्बईको एल्फिन्स्टेन-परेलस्थित प्रसिद्ध दामोदर स्कुल भवनमा मासिक सामाजिक सिर्जनात्मक वैचारिक कार्यक्रम बसिबियाँलोको दोस्रो प्रकरण पूर्वनिर्धारित तिथिअनुसार सम्पन्न भयो। लगातारको बर्खा अनि साप्ताहिक मेगाब्लकको कारण बाधित रेलमार्गको व्यवस्थालाई पन्छाएर पनि पूर्ण उत्साहका साथ भेला भएका यहाँका नेपालीभाषीहरूलाई कार्यक्रममा स्वागत गरे धेरै वर्षदेखि मुम्बईलाई आफ्नो कर्मभूमि बनाएर यहीँका रैथाने भई बसेका कर्मठ सामाजिक कार्यकर्ता गोविन्द रामहरि शर्माले घरपटीका रुपमा। कार्यक्रममा यसपालि बङ्गलोर अनि दिल्लीका नेपालीभाषी युवाहरूको पनि उपस्थिति रहेको थियो। टीबीडी इन्डिया लिमिटेडका एच. आर. एन्ड अपरेसन विभागका भाइस प्रेसिडेन्ट तथा अफ्रिकन स्टडीमा एम. फिलका विद्यार्थी रहेका घरपटी गोविन्द शर्माले कार्यक्रमको सुरुआतमा स्वागत वक्तव्य राख्दै मुसलधारे बर्खाको कुनै पर्वाह नगरी विचारहरू साटासाट गर्नका लागि उपस्थित भएका सबैप्रति आभार प्रकट गरे अनि आचार संहिता पाठ गराए। स्वागत वक्तव्य प्रस्तुत गर्दै शर्माले बसिबियाँलोको छोटो परिचय राखे अनि यस कार्यक्रमबाट दिनभरिको भागदौड़को जीवनदेखि मुम्बईवासी नेपालीभाषीहरूले केही मात्रामा भए पनि राहत पाउनथालेको बताए। बसिबियाँलो-को माध्यमद्वारा मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूले एकअर्कालाई चिन्ने मौका पाइरहेको पनि उनले बताए।
दोस्रो प्रकरणमा उपस्थित सहयात्रीहरू
यसरी नै युवा लेखक हीरा छेत्रीले नवागन्तुक अतिथिहरूलाई बसिबियाँलो-को पृष्ठभूमिबारे बताउँदै यस वैचारिक अभियानका सामाजिक पक्षहरू खुलस्त पारे अनि उपस्थितवर्गसित अन्तरक्रिया गरे।
हालमा भारतीय नौसेनामा अभियान्त्रिकका रुपमा सेवारत सिक्किमनिवासी युवा सामाजिक कार्यकर्ता केशव सापकोटाले दुइवटा कविता सुनाएर सबैको मन जिते भने माटुङ्गानिवासी युवाकवि पदम भुलले गीत अनि कविता सुनाएर कार्यक्रमलाई नयाँ आयाम दिए। मुम्बईमा रहेर आइरहेका नेपालीभाषीहरूबिच सुपरिचित व्यक्तित्व पदम भुलले बसिबियाँलो-को अवधारणाबाट आफु प्रेरित अनि उत्साहित भएको बताउँदै यस वैचारिक अभियानले वासी र भाषीलाई एकत्र गरेको दाबी गरे अनि उनले नेपालीहरू विश्वमा धेरै ठाउँका वासी भएर रहे पनि उनीहरू नेपालीभाषी हुन् भन्ने जनाउँदै भाषाले मात्र नेपालीहरूलाई एकबद्ध गराउने बताए।
महिलाहरूको उत्साहजनक उपस्थिति 
घरपटी गोविन्द शर्मा स्वागत वक्तव्य प्रस्तुत गर्दै - फोटो याचना
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका गतिविधिसित संलग्न रहेर आइरहेका ब्ल्याक बेल्ट छैटौँ डान नरेन्द्र ओलीले आत्मरक्षाको खेल मार्सल आर्टको आवश्यकताबारे प्रकाश पारे अनि महिलाहरूमा यस खेलको मौलिक ज्ञान हुनु अनिवार्य रहेको जनाए। यसबारे कुनै पनि प्रकारको सहयोगका लागि आफु हरदम तयार रहेको बताउँदै कराते डु फेडेरेसन अफ इन्डियाका सभापति अनि मुख्य प्रशिक्षक पनि रहेका ओलीले खेलकुदले मानिसको जीवनलाई तन्दुरुस्त राख्ने दाबी गरे। यसरी नै उनले विश्वका सबै देश तथा जातिको आफ्नो विशेष खेल रहेजस्तै नेपालीहरूको पनि खुकुरीकलालाई विश्वस्तरमा परिचय प्रदान गर्ने दिशामा कार्य गरिरहेको पनि जानकारी गराए।
सामाजिक कार्यकर्ता श्रीमती सकुन सिँह राईले बसिबियाँलो-मा व्यक्ति अनि पदको सम्मान नभएर विचारको आदर गरिने जानकारी दिँदै यस अभियानलाई समाजोपयोगी बनाउनुपर्ने दिशामा कार्य गर्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याइन्।
विगत धेरै सालदेखि आयुर्वेद उपचारको दिशामा कार्य गरेर समाजका असहाय अनि आर्थिक रुपले असक्षम रोगीहरूलाई सहायता गर्दै  आइरहेका डा. टेक चादले आफ्नो स्वास्थ्य केन्द्रमा विशेष प्रकारको उपचार अनि ओखतीमुलोहरूको उपलब्धता रहेको बताउँदै मुम्बईवासी नेपालीभाषीहरूका सहायतार्थ आफ्नो उपचार केन्द्रको ढोका सदैव खुला रहेको जनाए।
बलिउडका सिनेमाटोग्राफर युवराज नेउपानेले बसिबियाँलो-ले मुम्बईमा रहेर आफ्नो भाषा र संस्कृति भुल्न लागिरहेका कतिपय नेपालीभाषीहरूलाई मातृभाषा नेपालीमा बोल्न बाध्य गराइरहेको अनि कतिपय ठेट शब्दहरूतिर आकृष्ट गराएर एक महत्त्वपूर्ण कार्य गरिरहेको दाबी गरे। उनले आफ्ना कतिपय अनुभवहरू साझा गर्दै मानिसको जीवनमा जातीय भाषा र संस्कृतिको महत्त्वपूर्ण भूमिका रहने बताए अनि बसिबियाँलो जस्तो मञ्चबाट मुम्बईवासी नेपालीभाषीहरू लाभान्वित हुने दाबी गरे।
यस दिनको कार्यक्रममा उपस्थिति दिने विशेष व्यक्तिहरूमा यहाँका विभिन्न उपनगरीय सहरहरू अन्धेरी, एन्टप हिल, घाटकोपर, उड़ान, नेवी नगर, फोर्ट, माहिम, माटुङ्गा, मलाढ, भान्डुप, मिरा रोड, चेम्बुर, वासी, पनवेल, डोम्बिभेली, भिवन्डी, साकिनाका, आदि स्थानबाट आएका सहयात्रीहरू थिए – सामाजिक कार्यकर्ता विकास दूतराज, निलिमा दूतराज, निजी कर्मी लक्ष्मी थापा, लेखिका स्वस्तिका छेत्री, विद्यार्थी याचना छेत्री, नेवी अधिकारी बिपिन दाहाल, नेवी अधिकारी ठाकुर अधिकारी, नेवी अधिकारी सञ्जीव खनाल, सामाजिक कार्यकर्ता रामसिँह तिरुवा, सामाजिक कार्यकर्ता डा. ललित जी. सिँह, व्यवसायी खड़क सिँह, मुम्बई पोर्ट ट्रस्टका लक्ष्मण एन. सुनार, हनीवेल कम्पनीका प्रोडक्सन विशेषज्ञ बृजेश दमाई, निजी व्यवसायी सुजाता राई, सिमा राई, मिना राई, मुन्ना राई, सुनिका राई, माधवी शर्मा आदि।
कार्यक्रममा पदम भुल, सकुन सिँह राई अनि युवराज नेउपाने विभिन्न गीतहरू प्रस्तुत गरेर मनोरञ्जन पनि गराएका थिए। यसरी नै आगामी बसिबियाँलोलाई भानुजयन्तीका रुपमा पालन गरिने जानकारीसहित दोस्रो प्रकरणका घरपटीले सबैलाई धन्यबाद प्रदान गरे।

Sunday, May 6, 2018


सामाजिक कार्यका लागि विचार मिल्नेहरू एक हुन आवश्यक

मुम्बईमा मासिक वैचारिक बसिबियाँलो सुरू हुने

मुम्बई - सिक्किमको राजधानी गान्तोकमा नब्बेको दशकमा सुरू भएको मासिक वैचारिक भेटघाटको कार्यक्रम बसिबियाँलो अब भारतको आर्थिक राजधानी मुम्बईमा पनि आयोजना हुने निश्चित भएको छ।
दाहिनेदेखि - विकास दूतराज, रामजी शिवाकोटी, युवराज न्यौपाने,
डा. निलाम्बर छेत्री, कमल सिँह, सकुन सिँह राई, स्वस्तिका छेत्री अनि हीरा छेत्री
गत 5 मईको साँझ यहाँका केही मनमिल्ने व्यक्तिहरूमाझ बसेको एउटा अनौपचारिक भेटघाटमा उक्त विषयमा आम सहमती भएको छ। मुम्बईको सान्ताक्रुज पूर्वस्थित अप्टिमा हलको साई चेम्बरको  डा. पी. एन. सिँह सेन्टर फर एचआरडी -मा सम्पन्न भेटघाट कार्यक्रमको आयोजना भयो। कार्यक्रममा स्वागत वक्तव्य प्रस्तुत गर्दै गत पैँतीस वर्षदेखि मुम्बईमा रहेर आइरहेका अनुभवी सामाजिक कार्यकर्ता विकास दूतराजले सभाको औचित्यबारे अवगत गराए। भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक कार्यकर्ता तथा मुक्त पत्रकार हीरा छेत्री (कालेबुङ) -ले बसिबियाँलो-को आवधारणाबारे उपस्थितवर्गलाई जानकारी गराए। बसिबियाँलो- को अवधारणाको स्वागत जनाउँदै उपस्थित व्यक्तिहरूले मुम्बईजस्तो व्यस्ततम सहरमा मनमिल्ने नेपालीभाषीहरूको नियमित भेटघाट हुन जरुरी रहेको अनुभव पोखे अनि यस मासिक वैचारिक कार्यक्रमलाई नियमित रुपले आयोजना गर्ने अठोट गरे। यति मात्रै होइन, बसिबियाँलो -को तर्फबाट मुम्बईमा केही सामाजिक अनि सकारात्मक क्रियाकलापहरू पनि हुनुपर्ने सबैले बताए। मुम्बईमा अस्थायी रुपमा नेपालीभाषीहरू मूलतः रोगोपचार गर्न, स्कुल-कलेज भर्ती हुन, काम खोज्न अनि घुम्न आउने गरे तापनि उनीहरूलाई यस महानगरीबारे उचित जानकारी र यहाँ आएर बस्ने-रहने व्यवस्थाको अभाव रहने गरेको कारण यस दिशामा केही कल्याणकारी कार्य गर्नुपर्ने उपस्थित सबैले अनुभव पोखे।कार्यक्रमलाई सम्बोधन गर्दै महाराष्ट्र नेसनल ल युनिभर्सिटीका सहायक प्रोफेसर डा. निलाम्बर छेत्रीले कुनै पनि भेटघाटको एउटा उद्देश्य हुनुपर्ने अनि त्यस उद्देश्य प्राप्तिका लागि सकारात्मक रुपमा सबै अघि आउनुपर्ने बताए अनि मुम्बईजस्तो व्यस्ततम महानगरीमा यसरी मासिक रुपमा भेटघाट हुनु एकदमै आवश्यक रहेको जनाए। उनले बसिबियाँलो -बारे धेरैअघिदेखि नै सुनेको जानकारी दिँदै यसलाई मुम्बईमा सञ्चालन गरेर केही सामाजिक कार्य गर्नसकिने बताए।यसरी नै सामाजिक कार्यकर्ता तथा सम्पादक (एएफभीई), गीत-सङ्गीतकार कमल सिँहले विचार मिल्यो भने सबै कुरा मिलेर जाने हुनाले सबैको एक विचार हुन जरुरी रहेको बताए अनि मुम्बईमा धेरैवटा नेपाली अनि गोर्खा संस्थाहरू रहेको सूचना दिँदै ती सबैले आ-आफ्नो प्रकारले कतिपय कामहरू गरिरहेको बताए। अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद्को महाराष्ट्र राज्यका उपाध्य पनि रहेका सिँहले यसरी नै भविष्यमा बसिबियाँलो- लाई निरन्तरता दिएर अझ ठोस काम गर्न समाजको हितका लागि मनमिल्ने साथीभाइहरूलाई यस अभियानसित जोड़्नुपर्ने आवश्यकता बताए।                सिनेमाटोग्राफर (डब्ल्युआईसीए), संयुक्त नेपाली महासङ्घका साङ्गठनिक मन्त्री तथा सामाजिक कार्यकर्ता युवराज न्यौपानेले आफ्नो वक्तव्य प्रस्तुत गर्दै महिनामा एकपल्ट यसरी भेटघाट गरिनुपर्ने आवश्यकतालाई समयको माग बताउँदै आफु कतिपय संस्थाहरूसित संलग्न भएर काम गरिरहेको अनुभव बताए। यसरी नै उनले ठेट नेपालीपन बोकेको बसिबियाँलो-लाई नियमित आयोजना गरेर नयाँनयाँ युवाहरूलाई निमन्त्रणा गरी ठोस सामाजिक काम गर्नुपर्ने बताए।                नेपाली सांस्कृतिक परिषद् (महिला)-की महासचिव, सामाजिक कार्यकर्ता एवम् भोइस ओभर कलाकार श्रीमती सकुन राईले बसिबियाँलो-को उद्देश्यलाई हार्दिक रुपले स्वागत गरिन् अनि आफु मुम्बई आएपछि यसरी समयसमयमा नेपालीभाषीहरूको भेटघाट भइरहेको आन्तरिक इच्छा अघिदेखि नै पलाए तापनि अब भने बसिबियाँलो-ले सो तिर्खा पुरा गरिदिने आशा व्यक्त गरिन्।                युवा व्यवसायी रामजी शिवाकोटीले मुम्बईजस्तो महानगरीमा यसरी नेपाली भाषाको माध्यममा सभा डाकिनु अनि यसमा आफ्नो मातृभाषामा विचारहरूको आदान प्रदान गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि हो भन्ने दाबी गर्दै बसिबियाँलो-लाई दिगो राख्नुपर्ने बताए अनि सामाजिक कार्यहरूलाई पनि यसले अघि बढ़ाउनुपर्ने जनाए।                सभामा न्यु मुम्बई, चेम्बुर, साकिनाका, पवाई, कान्दिवली, एन्टप हिल, घाटकोपर आदि स्थानका नेपालीभाषी मनमिल्ने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने आगामी भेटघाटमा अझ धेरै व्यक्तित्वहरूलाई निमन्त्रणा गरेर सबैको विचार आदान-प्रदान गरिने तय गरियो।

Friday, May 4, 2018

धेरै दिनदेखि बसिबियाँलो-को यो ब्लग बन्द रहिरहेको थियो। यद्यपि पुनः यसलाई सञ्चालनमा ल्याउने सोचेर बसिबियाँलो-सा सम्पूर्ण सहयात्रीहरूलाई समयसमयमा यस ब्लगतिर पनि नजर दौड़ाउनु अथवा ब्राउजिङ गरिदिनु हुन र टिप्पणी आदि गर्नु हुन नम्रतापूर्वक अनुरोध छ।
धन्यबाद।

Monday, March 30, 2015


गुवाहटीमा आयोजित बसिबियाँलो-को 137 औँ प्रकरणमा.......

Thursday, December 4, 2014

बसिबियाँलो परिवारले चरित्र प्रकाशन अनि कालिम्पोङ टेलिभिजनसित मिलेर शहीद दुर्गा मल्लमाथि निर्मित फिल्मको प्रदर्शनी विभिन्न स्कुलतिर गर्ने भएको छ। यसो गरेर आफ्ना जातीय शहीदहरूबारे छात्रछात्रालाई जाग्रत गराउने ध्येय राखेको बसिबियाँलोलाई सबैले सहयोग पुऱ्याउनेहुने आशा राखेका छौं....।